२०८२ बैशाख २९, सोमबार

बुलिङटारमा कुकुरले टोकेका बालकको समयमै उपचार नगर्दा मृत्यु

  • बिष्णु गौडेल
  • २०८२ बैशाख २८, आईतबार
बुलिङटारमा कुकुरले टोकेका बालकको समयमै उपचार नगर्दा मृत्यु

विष्णु गौडेल,बुलिङटार(नवलपरासी), २८ वैशाख,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–४ बोझापोखरीमा कुकुरले टोकेका एक वालकको समयमै उपचार नगर्दा मृत्यु भएको छ । जुनवीर फ्यालूँ को १६ वर्षका छोरा राजु सुनारलाई गत माघ १ गते कुकुरले टोकेको भए पनि समयमै उपचार नगरी अन्तिम समयमा अस्पताल लैजाँदा मृत्यु भएको हो ।
बालकलाई शनिवार अचेत अवस्थामा उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएकोमा चिकित्सकले मृत घोषित गरिदिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो ।
बालकलाई गत माघ १ गते कुकुरले टोकेको भए पनि उपचार नगराई बसेको खुल्न आएको छ । माघ २६ गते देखि मुखबाट फिँज निकाल्ने, पानी बोकेको मानिसलाई देख्नासाथ झम्टिन जाने जस्ता व्यवहार देखाउने गरे पनि कुकुरले टोको बालकले समयमै नभन्दा परिवारले अस्पताल लैजाने मेसो नपाएको बुलिङटार गाउँपालिका–४ का वडा अध्यक्ष मीन बहादुर आलेले बताउनु भयो ।
“परिवार गाउँ देखि अल्लि एकान्तमा बस्ने र आर्थिक अवस्था पनि कमजोर भएकाले उपचार गर्नु पर्छ भन्ने ज्ञान नभएको पाएका छौ”,उहाँले भन्नु भयो,“घरमै पालेको कुकुरले टोकेको भन्ने छ, तेहि भएर पनि केही हुँदैन भनेर बेवास्ता गर्दा यस्तो भयो ।”
कुकुरले टोकेका बालकका बारेमा गाउँपालिका भित्रका कुनै पनि स्वास्थ्य चौकीमा जानकारी नहुँदा उपचार नपाएको बुलिङटार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले बताउनु भयो । बालकको मृत्यु भए पछि मात्रै प्रहरी बाट खबर पाएको उहाँले बताउनु भयो ।
“गाउँघरका अन्य व्यक्तिहरू कुकुरले टोक्ना साथ नजिकको स्वास्थ्य चौकीमा जाने गरेको र रेबिज भ्याक्सिनका लागि भरतपुर रिफर गर्ने गरिएको थियो”,उहाँले भन्नु भयो,“यी बालकको बारेमा कहीँ कतै केही जानकारी गराएको अवस्था रहेनछ, विद्यालय पनि नजाने आर्थिक अवस्था कमजोर भएको कारणले गाउँ समाजमा पनि थाहा नहुँदा समस्या भयो ।”
लामो समय सम्म उपचार नगरेका बालकको घर परिवार र टोल छिमेकमा गाउँपालिका वाट स्वास्थ्यकर्मी परिचालन गरी आवश्यक परीक्षण र परामर्श सुरु गरिने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनु भयो ।
चालु आर्थिक वर्षमा मात्रै बुलिङटार गाउँपालिका वाट कुकुरले टोकेका २५ जना भन्दा धेरैलाई रेबिज खोप लगाउनका लागि रिफर गरिसकिएको उहाँले जानकारी दिनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस