२०८२ बैशाख २८, आईतबार

मर्मत सम्भारको अभावमा बेवारिसे बन्दै हुप्सेकोटको वायु ऊर्जा

  • बिष्णु गौडेल
  • २०८१ मंसिर १६, आईतबार
मर्मत सम्भारको अभावमा बेवारिसे बन्दै हुप्सेकोटको वायु ऊर्जा

विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी), १६ मङ्सिर,(रासस)
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा रहेको हावाबाट बिजुली निकाल्ने वायु ऊर्जा मर्मत सम्भारको अभावमा बेवारिसे बन्दै गएको छ । एसियाली विकास बैङ्कको आर्थिक तथा प्राविधिक सहयोगमा धौवादी डाँडास्थित रुद्रपुरमा नमुना योजनाका रूपमा वि.सं २०६८ सालमा हावाबाट बिजुली निकालिएको वायु ऊर्जा केन्द्र अहिले बेवारिसे अवस्थामा बन्द भएको हो ।

हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकोमा टर्वाइनमा समस्या देखिएपछि बन्द भएको ऊर्जा केन्द्रको अन्य पाट पुर्जा पनि अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् । दुई करोड बढीको लागतमा निर्माण गरिएको परियोजनाबाट हावाका माध्यमले १० किलोवाट र सौर्य ऊर्जाबाट दुई किलोवाट गरी १२ किलोवाट विद्युत् उत्पादन गरिएको वायु ऊर्जा अहिले पूर्ण रूपमा बन्द रहेको हुप्सेकोट गाउँपालिका–५ का वडा अध्यक्ष पदमबहादुर राना मगरले बताउनु भयो ।
“निर्माण सम्पन्न भएपछि एसियाली विकास बैङ्कले ऊर्जा केन्द्र हस्तान्तरण गरेको केही वर्ष पूरा क्षमतामा विद्युत् उत्पादन भए पनि पछि टर्वाइन र ब्याट्रीमा खराबी आएपछि उत्पादन बन्द भएको हो”,वडा अध्यक्ष मगरले भन्नु भयो ।

वायु ऊर्जा केन्द्र निर्माण पश्चात् स्थानीय समूहलाई रेखदेखका लागि जिम्मा दिए पनि मर्मत सम्भार कुन निकाय वाट हुने हो भन्ने स्पष्ट नहुँदा करोडौँको लगानी बेवारिसे बनेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । विगत १० वर्ष अगाडि देखि नै वायु ऊर्जा केन्द्र बन्द रहेकाले त्यसको मर्मतका लागि गाउँपालिकाले पटक पटक पहल गरे पनि कुनै निकायले सुनुवाइ नगरेको अध्यक्ष पाण्डेको गुनासो रहेको छ ।
“मर्मतका लागि धेरै नै रकम चाहिने प्रारम्भिक अनुमान रहेकाले त्यसको बस्तु स्थिति जाँच बुझका लागि वैकल्पिक ऊर्जा केन्द्रमा गाउँपालिकाले पत्राचार गरेको छ, पटक पटक भेटेर पनि भनिएको छ”,उहाँले भन्नु भयो,“प्राविधिक टोली पठाउँछौ भन्ने उत्तर आउँछ तर कुनै टोली आएको छैन ।”

वायु ऊर्जा केन्द्र मर्मत गर्न स्थानीय सरकारको बजेटले मात्र नसक्ने हुँदा केन्द्र सरकार समक्ष पहल गर्न आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको गाउँपालिकाको भनाई छ । परियोजना सञ्चालन भएपछि केही वर्ष क्षमता अनुसारको विद्युत् उत्पादन भएकाले स्थानीले चौबीसै घण्टा विद्युतको प्रयोग गर्न पाएका थिए । वायु ऊर्जा बन्द भए पछि सौर्य ऊर्जाको भर पर्नु परेको धौवादी क्षेत्रमा गत वर्ष देखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगे पछि बिजुलीको समस्या नभए पनि नमुनाको रूपमा स्थापना गरिएको वायु ऊर्जा केन्द्र बेवारिसे बन्नु चिन्ताको विषय बनेको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो ।

हावाबाट बिजुली निकाल्ने क्षेत्रका रूपमा परिचित भएको धौवादी क्षेत्र पर्यटकीय केन्द्रका रूपमा समेत विकास भएको थियो । यहाँको पङ्खा हावाको वेगले घुम्दा थप आकर्षक देखिने र त्यसको अवलोकनका लागि आन्तरिक पर्यटकको बाक्लै उपस्थिति हुने गरेको थियो । वायु ऊर्जा केन्द्रको मर्मत गरी हावाबाट बिजुली उत्पादन गराएर यसलाई थप आकर्षित बनाउन सके पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिंह राना मगरले बताउनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस