विष्णु गौडेल,हुप्सेकोट , ३० वैशाख,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ९३ जना सुत्केरी आमाहरूलाई नगद पाँच हजारका दरले पोषण खर्च उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को हाल सम्म ‘सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’ मार्फत गाउँपालिका भित्रका ९३ जना सुत्केरी आमाहरूलाई रकम हस्तान्तरण गरिएको हो ।
सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले पोषण खर्च दिने कार्यक्रम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।
“सुत्केरी आमालाई आर्थिक सहायता, पोषण, र स्याहारको खाँचो विशेष रूपमा महसुस हुन्छ यिनै आवश्यकतालाई बुझेर गाउँपालिकाको तर्फ वाट केही भए पनि रकम दिने व्यवस्था मिलाइएको हो”,उहाँले भन्नु भयो ।
हुप्सेकोट गाउँपालिका भित्र रहेका सबै वर्ग समुदाय भित्रका महिलालाई सुत्केरी समयमा आधारभूत पोषणको कमी नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । सुत्केरी भए पश्चात् बैङ्क खातामा रकम पठाइने भएता पनि तत्कालको गर्जो सापटी मार्फत चलाउन सक्ने आधार पोषण खर्च कार्यक्रमले सुनिश्चित गरेको अध्यक्ष पाण्डेले बताउनु भयो ।
“यो कार्यक्रम मार्फत मातृ र शिशु मृत्यु दर घटाउने हाम्रो प्रयास हो”,उहाँले भन्नु भयो,“हामी चाहन्छौँ सुत्केरी महिला पोसिलो आहार खान सकुन्, आफूलाई स्याहार गर्न सकुन् ।”
गाउँपालिकाले यो कार्यक्रमलाई मातृ स्वास्थ्यसँगै महिला आत्मनिर्भरताको पनि एउटा पाइलाको रूपमा लिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले बताउनु भयो ।
“हामीले पोषण खर्चका साथै स्वास्थ्य सल्लाह, नियमित चेकजाँच, र भिटामिन वितरणजस्ता सेवा पनि सँगसँगै प्रवाह गरिरहेका छौँ”,उहाँले भन्नु भयो ।
हुप्सेकोट गाउँपालिका भित्र स्थायी बसोबास गरेका महिला गर्भवती अवस्थामा चार पटक स्वास्थ्य संस्थामा परीक्षणका लागि गएको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र बच्चाको जन्म दर्ता गरेको प्रमाण पेस गरे पछि गाउँपालिकाले रकम उपलब्ध गराउने गरेको छ । यो सहायता रकम महिला आफैले प्रयोग गर्न सक्ने व्यवस्था गरिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र रेग्मीले बताउनु भयो ।
“यस कार्यक्रम मार्फत गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, अस्पतालमा नै सुत्केरी हुने अवस्था र नवजात शिशुको समयमै जन्म दर्ता गराउने बानीको विकाश भएको पाएका छौ”,उहाँले भन्नु भयो,“एउटै कार्यक्रमले मातृ शिशुको स्वास्थ्य सँग सँगै बच्चाको जन्म दर्ताको सुनिश्चितता गरेको छ ।”
हुप्सेकोट गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरी स्याहार पोषण खर्च’ कार्यक्रमले आमाहरूको जीवनमा राहत, स्वास्थ्यमा सुधार र समुदायमा सकारात्मक सन्देश दिन सफल भएको स्थानीय महिलाहरूको भनाई छ ।