२०८२ बैशाख २८, आईतबार

भोज भतेर सँगै औपचारिक कार्यक्रममा मही र दहीको माग बढ्दै

  • बिष्णु गौडेल
  • २०८२ बैशाख २७, शनिबार
भोज भतेर सँगै औपचारिक कार्यक्रममा मही र दहीको माग बढ्दै

विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), २८ वैशाख(रासस)
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत वर्ष सम्म विवाह, व्रतबन्ध र भोज भतेरका अवसरमा कोल्ड ड्रिङ्क, जुस, र बोतल बन्द पेय पदार्थहरू अत्यधिक रूपमा प्रयोग हुने गर्दथियो । तर अहिले परिस्थिति फेरिँदै गएको छ । गाउँदेखि सहर सम्म, साधारण भोजदेखि पार्टी प्यालेससम्म, मही र दहीको प्रयोग पुनः लोकप्रिय बन्दै गएको छ ।
पछिल्लो केही वर्ष देखि भोज भतेरमा मही तथा दहीको प्रयोग अनिवार्य जस्तै बन्दै गएको पानस पार्टी प्यालेस कावासोतीका सञ्चालक गुरु पोख्रेलले बताउनु भयो ।
“पहिले गाउँघरमा मही र दही भोजमा अनिवार्यजस्तै थियो । अहिले पनि त्यस्तै गरी भोजमा मही र दही राख्न थालिएको छ”,उहाँले भन्नु भयो,“यसले परम्पराको सम्मान त हुन्छ नै, स्वादमा पनि नयाँपन ल्याउँछ ।”


गाउँमा मात्र होइन, सहर बजार क्षेत्रका पार्टी प्यालेसहरूमा पनि अब मही विशेष पेयको रूपमा प्रस्तुत गरिन थालेको छ । पार्टी प्यालेसका सञ्चालक पोख्रेलका अनुसार, “पहिले चिसो पिय र बोतलको पेय राखिन्थ्यो । अहिले ग्राहक आफैले मही माग्छन् । हामीले भोज भतेरको मेनुमा नै महिलाई समावेश गर्न थालेका छौँ ।”

जिल्लामा पछिल्लो समय आयोजना गरिने सभा समारोह एवं औपचारिक कार्यक्रममा समेत महीको प्रयोग हुन थालेको छ । यस्ता कार्यक्रममा खाजाको रूपमा तयारी जुस वा चिया दिइने गरेकोमा गर्मी मौसममा मही नै रोजाइमा पर्न थालेको देवचुली नगरपालिका–११ का राजु चापागाईले बताउनु भयो । भोज एवं कार्यक्रममा मही पिउनु आफैमा गर्वको विषय बन्दै गएको उहाँले बताउनु भयो ।
“स्वाद, स्वास्थ्य र संस्कृतिको सङ्गम बनेको मही हिजो आज भोज भतेर सँगै औपचारिक कार्यक्रममा समेत राखेको देख्न पाइन्छ”,उहाँले भन्नु भयो,“यो प्रवृत्ति सम्पूर्ण देशका लागि पनि सकारात्मक सङ्केत हो यसले परम्परा सँग सँगै मौलिकता पनि जोडेको हुन्छ ।”


विशेष गरी गर्मी मौसममा महीले चिसो र शीतल पार्ने हुँदा यो स्वास्थ्यका दृष्टिकोणले पनि उपयोगी मान्ने गरिन्छ । देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार,“मही प्रोटिन, क्याल्सियम र इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ । भोजमा कोल्ड ड्रिङ्कको सट्टा मही राख्दा स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।”
माग वढन थाले पछि स्थानीय पशु पालक तथा दुग्ध उत्पादक कृषकहरूले मही र दहीको आपूर्ति गर्दै आएका छन् । अहिले भोजभतेर तथा कार्यक्रमका लागि दैनिक मही र दहीको अडर आउने क्रम वढेको गौरादेवी नवीन कृषि तथा पशु फर्म कावासोती–६ का सञ्चालक गंगाधर न्यौपानेले बताउनु भयो । “हिजोआज भोजका अर्डर आउँदा एकै चोटि सयौँ किलो दहीको माग आउँछ । यसले हामी जस्तो किसानहरूलाई पनि राम्रो भएको छ ।”

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस