मध्यविन्दु (नवलपरासी), १२ वैशाख ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्ष २०८१/८२ को हाल सम्म सात जना औँलो(मलेरिया) का बिरामी भेटिएका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का अनुसार चालु आर्थिक वर्षमा भेटिएका सातै जना औँला रोगीहरू पुरुष रहेका छन् । सात जना मध्य एक जना शान्ति सैनिकका रूपमा सुडानमा खटिएर आएका नेपाली सेनाका जवान रहेका छन् भने बाकी छ जना भारतमा रोजगारी गरी फर्किएका रहेका छन् ।
जिल्लामा विगतका वर्षहरू देखिनै औँला शून्य रहे पनि आयातित(अन्य देशमा सङ्क्रमण भई यहाँ आएको) बिरामी बर्सेनि फेला पर्ने गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले बताउनु भयो ।
“भारतमा कामका लागि गएर आफ्नो घर आउने क्रममा औँलो रोग पत्ता लाग्ने केश बर्सेनि देखिएको छ”,उहाँले भन्नु भयो,“यहाँ नै औँलो लागेको बिरामी भेटिएको छैन ।”
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा आर्थिक वर्ष २०७५/०७६ मा १३, २०७६/०७७ मा ११, २०७७/०७८ मा तीन, २०७८/०७९ र २०७९/०८० मा छ/छ र २०८०/०८१ मा चार जना औलोका बिरामी देखिएको थियो । विगत सात वर्षको तथ्याङ्क हेर्दा २०७८/०७९ मा एक जना महिलामा औँलो देखिएको र अन्य सबै पुरुष रहेको ल्याब टेक्निसियन निरीक्षक तिवारीले जानकारी दिनु भयो ।
“विगत सात वर्षका सबै केशहरू आयातित नै रहेका छन्, आयातित औँलो निवारण नै नेपालका लागि मुख्य चुनौती बनेको छ”,उहाँले भन्नु भयो ।
नेपालले सन् २०२५ सम्म औँलो निवारण गर्ने लक्ष्य लिएको छ । स्थानीय औँलोलाई शून्यमा पुराउन औँलो बिरामीको खोजपड्ताल तथा औँलो निवारणका लागि आवश्यक सूचना प्रदान गर्ने गरिएको छ । लामखुट्टेको टोकाइबाट नै यस्ता रोग फैलने हुँदा यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने निरीक्षक तिवारीले बताउनुभयो ।
औँलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औँलो सङ्क्रमित ‘एनोफिलज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औँलो सामान्य र कडा लक्षण सहितका गरी दुई प्रकारका हुन्छन् । जसलाई समयमै उपचार नगरे ज्यानै जान सक्ने तिवारीले बताउनुभयो ।
औँलो रोग लागेमा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उहाँले सुझाव दिनु भयो ।
अप्रिल २५ का दिन आज विश्व औँलोका दिवस नेपाल सहित विश्वभर मनाइँदै छ । यस वर्षको औँलो दिवसको नारा ‘पुनर्लगानी,पुनर्सोच र पुनर्जागरणःहामीबाटै औलो निवारण’ तय गरिएको छ ।