२०८२ बैशाख २७, शनिबार

देवचुलीमा दुई सय भन्दा बढी बालबालिकालाई फुटबल र क्रिकेट प्रशिक्षण सुरु

  • बिष्णु गौडेल
  • २०८२ बैशाख २७, शनिबार
देवचुलीमा दुई सय भन्दा बढी बालबालिकालाई फुटबल र क्रिकेट प्रशिक्षण सुरु

देवचुली (नवलपरासी), २७ वैशाख,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकामा बालबालिकाको खेल प्रतिभा उजागर गर्ने उद्देश्यसहित फुटबल र क्रिकेट खेलको प्रशिक्षण सुरु भएको छ । नगरपालिकाको युवा तथा खेलकुद विकास समितिद्वारा सञ्चालित यस प्रशिक्षणमा ९ देखि १६ वर्ष उमेर समूहका दुई सयभन्दा बढी बालबालिकाले सहभागिता जनाएका छन् ।
नगरपालिकाले खेल प्रतियोगिता मात्र सञ्चालन गर्ने नभई, दीर्घकालीन योजना अन्तर्गत प्रशिक्षणमार्फत खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण सुरु गरिएको नगरप्रमुख हरि प्रसाद न्यौपानेले बताउनु भयो ।
“स्थानीय प्रशिक्षकमार्फत बालबालिकालाई नियमित प्रशिक्षण दिइनेछ, खेलकुदमार्फत उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ”,उहाँले भन्नु भयो,“पालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझै प्राथमिकता दिने छ ।”


वैशाख ५ गते प्रशिक्षणका लागि सूचना जारी गरिएकोमा दर्ता भएका इच्छुक बालबालिकालाई शनिवार देखी ४५ दिने प्रशिक्षण सुरु गरिएको देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दीपक चन्द्र भट्टराइले बताउनु भयो ।
“फुटबलका लागि वडा नं. १, २, ३, ४, ५, १६ र १७ का लागि रजहरस्थित देवचुली माध्यमिक विद्यालयको मैदान, र वडा नं. ६ देखि १५ सम्मका लागि जनज्योति नमुना माध्यमिक विद्यालयको खेलमैदानमा प्रशिक्षण हुने छ”,उहाँले भन्नु भयो,“क्रिकेट खेलको प्रशिक्षण भने रोयल क्रिकेट एकेडेमीमा सञ्चालन भइरहेको छ ।”
पहिलो पटक सञ्चालन गरिएको औपचारिक प्रशिक्षण कार्यक्रमले देवचुलीका प्रतिभावान् खेलाडीहरूलाई राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन मद्दत पुग्ने देवचुली नगरपालिका ९ का वडा अध्यक्ष बलिराम सापकोटाले बताउनु भयो ।
“बालबालिकामा खेलकुदको चेतना जगाउने र उनीहरूको भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रमले देवचुलीको खेल क्षेत्रमा नयाँ ऊर्जा थपेको छ”,उहाँले भन्नु भयो ।

शनिबार सुरु गरिएको उक्त कार्यक्रम देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपक चन्द्र भट्टराईको अध्यक्षता तथा नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा वडा अध्यक्षहरू, नगर तथा वडा खेलकुद विकास समितिका पदाधिकारीहरू, प्रशिक्षकहरू, खेलाडी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा समितिका उपाध्यक्ष अमर घर्ती मगरले स्वागत मन्तव्य राख्दै खेल प्रशिक्षणको उद्देश्य र यसको प्रभावबारे स्पष्ट पार्नुभयो । प्रशिक्षण कार्यक्रमको समन्वय समितिका सचिव प्रकाश काफ्लेले गर्नुभएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस