२०८२ जेष्ठ ६, मंगलबार

यातायात कार्यालय नवलपुरद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

  • बिष्णु गौडेल
  • २०८२ बैशाख ८, सोमबार
यातायात कार्यालय नवलपुरद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी),(रासस)। यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा २३ करोड ५४ लाख ३० हजार नौ सय ८० रुपैयाँ राजश्व सङ्कलन गरेको छ । चालु आ.व. को साउन देखि चैत मसान्त सम्म सवारीसाधन कर,चालक अनुमति पत्र, सवारी दर्ता लगायतका विभिन्न शीर्षकमा सो राजश्व सङ्कलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताउनु भयो ।
“यो अवधिमा सवारी साधन कर सङ्कलन बापत १९ करोड १२ लाख ३६ हजार आठ सय २०, सवारी चालक अनुमति पत्र एवं सवारी दर्ता किताब बापत चार करोड नौ लाख ५४ हजार छ सय ५५, यातायात क्षेत्रको आम्दानी राजश्व शीर्षकमा २३ लाख ५८ हजार चार सय ६० र अन्य प्रशासनिक सेवा शुल्क बापत आठ लाख ७५ हजार छ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ”,उहाँले भन्नु भयो ।
यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैत महिनामा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख जैसवालले बताउनु भयो । यो अभियान अन्तर्गत बिल बुक नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी चालक अनुमति पत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको थियो । अभियानको सकारात्मक प्रभावको रूपमा चैत महिनामा मात्र चार करोड ८० लाख २५ हजार छ सय २५ रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनु भयो ।
“प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर सङ्कलन प्रक्रियालाई चुस्त–दुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो सोही अनुसार राजश्व सङ्कलन पनि वृद्धि भयो”,उहाँले भन्नु भयो,“यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर सङ्कलनको लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेका छौ ।”
सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेक नारायण तिवारीले बताउनु भयो । कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको तिवारीले जनकारी दिनु भयो ।
“सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ”उहाँले भन्नु भयो,“कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।”
गत आर्थिक वर्ष २०८०/८१ मा यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस