फेसबुकमा पछ्याउनुहोस्
कावासोती, ७ वैशाख,
माझी मुसहर समुदायमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका सम्बन्धमा सचेतना अभिवृद्धि गर्न कावासोती नगरपालिकाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कावासोती नगरपालिका वडा नं.१५ मा बसोबास गर्ने माझी मुसहर समुदायका अभिभावकहरूलाई आइतबार नगरपालिकाले अभिमुखीकरण प्रदान गरेको हो ।
माझी मुसहर समुदायमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षाका विषयमा कम जानकारी र सूचना रहेको महसुस गरे पछि नगरपालिकाले सचेतना कार्यक्रम आयोजना गरेको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला राज पौडेलले बताउनु भयो । कार्यक्रममा सहभागी माझी मुसहर समुदायका व्यक्तिहरूलाई जन्म,मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराइ जस्ता घटनाहरू ३५ दिन भित्र अनिवार्य दर्ता गर्न प्रमुख प्रशासकीय अधिकृत पौडेलले आग्रह गर्नु भयो । समयमै दर्ता गरे कुनै शुल्क नलाग्ने तथा राज्य बाट प्राप्त हुने सेवा सुविधामा सहज हुने उहाँले बताउनु भयो ।

कावासोती नगरपालिकाले वडा नंं. १५ का वडा अध्यक्ष तेज कुमार श्रेष्ठले वडा भित्रका माझी मुसहर समुदायमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताका बारेमा रहेको अन्यौलता चिर्न अभिमुखीकरण कार्यक्रम गर्नु परेको बताउनु भयो । दैनिक काम धन्दामा खटिदा यो समुदायले यस्ता कुरामा समय दिन नपाएकाले वडामा ढिलो सम्पर्कमा आउने गरेको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ । अहिले वडा कार्यालय मार्फत धेरै कुराहरू विना शुल्क हुने तथा सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिने नगरपालिकाको समेत उद्देश्य रहेकाले कुनै पनि कुरामा नछुट्न आग्रह गर्नु भयो ।
“माझी मुसहर समुदायमा बाल विवाह र सम्बन्ध विच्छेदका घटनाहरू धेरै हुने गरेको छन् र समयमै घटना दर्ता नगर्दा कानुनी समस्याहरू आउने गरेका छन्”,उहाँले भन्नु भयो,“जन्म दर्ता नहुँदा बालबालिकाहरूको शिक्षादेखि नागरिकता प्राप्तिसम्म कठिनाइ भएका धेरै समस्या यहाँ रहेकाले घटना दर्ता सम्बन्धी विषयलाई चासो दिनु आवश्यक छ ।”
अभिमुखीकरण कार्यक्रममा कावासोती नगरपालिकाका सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शाखाका एमआईएस अपरेटर रोम बहादुर घर्ती र महिला विकास शाखा अधिकृत सुभद्रा शर्माले व्यक्तिगत घटना दर्ताको प्रक्रिया, आवश्यक कागजात, यसको महत्त्व र लाभका विषयमा जानकारी गराउनु भएको थियो ।
आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएकाले सबै नागरिकलाई ३५ दिनभित्र व्यक्तिगत घटना दर्ता गर्न एमआईएस अपरेटर रोम बहादुर घर्तीले आग्रह गर्नु भयो ।
“गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण विभागको आयोजनामा देशभरका सबै स्थानीय तहमा वैशाख १ गते देखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन गर्ने गरिएको छ”,उहाँले भन्नु भयो,“सप्ताह अवधिभर कावासोती नगरपालिकाले सबै वडा कार्यालयमा सूचना मूलक ब्यानर राख्ने, विभिन्न प्रचार–प्रसार गर्ने र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।”
कार्यक्रममा कावासोती नगरपालिका वडा नं. १५ का वडा सदस्य सन्त बहादुर बोटे सहित माझी मुसहर समुदायका ४० जना भन्दा बढीको सहभागिता रहेको थियो ।