नवलपरासी, ९ वैशाख
नारायणगढ–बुटवल सडक खण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सुख्खा पहिरो खस्न थाले पछि सवारी आवागमन अवरुद्ध भएको छ । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने क्षेत्रमा सडकको बायाँ तर्फबाट सुख्खा पहिरो खसिरहेकोले सवारी आवत जावत अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले पूर्व पश्चिम यात्रा गर्ने सवारी पूर्ण रूपमा अवरुद्ध भएको छ । सुख्खा पहिरो हटाएर निर्माणको काम सुरु भएको उहाँले जनकारी दिनु भएको छ । अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीहरू जाममा परेका छन् ।
पहिरो खसिरहेको अवस्थामा नयाँ भित्ता काटेर बाटो बनाउनु पर्ने भएकाले यातायात सुचारु हुन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले बताउनु भयो ।
दाउन्ने क्षेत्रमा कालोपत्रे सडक खनेर विस्तारको काम भई रहेको अवस्थामा मङ्गलवार दिउँसो देखि सुख्खा पहिरो जान थालेको हो । अहिले दाउन्ने खण्डमा सडक विस्तारको लागि राति ११ बजे देखि बिहान ५ बजे सम्म सडक आवागमन रोकेर काम गर्ने गरिएको छ ।