कावासोती, शैक्षिक सुधारको माग गर्दै नेपाल विद्यार्थी सङ्घ नवलपरासी(ब.सु.पू.)ले प्याब्सन नवलपुरको कार्यालयमा तालाबन्दी गरिदिएको छ । जिल्लाभरिका संस्थागत विद्यालयहरूमा देखिएको शैक्षिक समस्या समाधानको माग राखेर गत वैशाख १६ गते प्याब्सन नवलपुरलाई बुझाइएको ज्ञापन पत्रलाई बेवास्ता गरिएको भन्दै नेविसंघले तालाबन्दी गरिदिएको हो । बुधवार नेपाल विद्यार्थी सङ्घ नवलपरासी पूर्वका अध्यक्ष हरि सुवेदीको नेतृत्वमा गएको विद्यार्थीहरूको टोलीले प्याब्सन जिल्ला कार्यालयमा तालाबन्दी गरी ५ दिनभित्र माग पुरा नभए जिल्ला व्यापी विद्यार्थी आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
नेविसंघ जिल्ला अध्यक्ष हरि सुवेदी द्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ“प्याब्सन नवलपुरले हाम्रा मागहरूको विषयमा वार्ता बस्ने समेत वातावरण सृजना नगरेकोमा नेविसंघ नवलुरको गम्भीर ध्यानाकर्षण भएको छ । नेविसंघको मागलाई नजरअन्दाज गर्ने र सहजीकरण गर्न नखोज्ने प्याब्सन नवलपुरको कदमको घोर भर्त्सना गर्दै आन्दोलनको पहिलो चरण अन्तर्गत यस कार्यालयमा तालाबन्दी गर्न हामी बाध्य भएका छौ ।”
विद्यार्थीहरूको शैक्षिक अधिकारको सुनिश्चितता, गुणस्तरीय शिक्षाको पहुँच, मनपरी शुल्क प्रणालीको अन्त्य तथा शैक्षिक संस्थामा विद्यार्थीमाथि भइरहेको अन्यायपूर्ण व्यवहार विरुद्ध सङ्घले आवाज उठाएको नेविसंघ जिल्ला अध्यक्ष सुवेदीले दाबी गर्नु भयो ।
नेविसंघले अघि सारेको मागहरूमा निजी विद्यालयहरूले लिएको मनपरी शुल्क तुरुन्त फिर्ता गरिनु पर्ने, प्रत्येक विद्यालयमा न्यूनतम १०% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनु पर्ने, विद्यालयमा अनावश्यक ड्रेस, पुस्तक लगायतका आर्थिक बोझ बन्द गरिनु पर्ने, शिक्षालाई व्यापारको रूपमा नलिई समाजको हितमा प्रवर्द्धन गरिनु पर्ने, शुल्क निर्धारणमा पारदर्शिता राखी अभिभावक समितिको सहमति तथा स्थानीय तहको निगरानी अनिवार्य गर्नु पर्ने रहेका छन् ।
विज्ञप्तिमा विद्यार्थीहरू अझै पनि शिक्षाबाट टाढा रहेको, निजी विद्यालयहरूले मनपरी शुल्क असुल्दै आएको र शैक्षिक वातावरण दिनप्रतिदिन विकृत हुँदै गएको गम्भीर चिन्ता व्यक्त गरिएको छ ।