चोरमारा । मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले नगरपालिका भित्र रहेको भूमि सम्बन्धी समस्या समाधानका लागि नगरपालिकाले तिव्र रुपमा कार्यहरु अगाडी बढाएको बताउनु भएको छ । मध्यविन्दुृ नगरपालिकाको भूमि सम्बन्धी समस्या रहेको मुख्य वडाहरुमा जग्गा नाँपचाँचको काम सम्पन्न भई फिल्डबुक तयारी, सूचना प्रकाशन लगायतको कामहरु अगाडी बढेको भन्दै नगर प्रमुख अधिकारीले भूमिसम्बन्धी समस्या समाधानका लागि नगरको तर्फबाट प्राथमिकताका साथ कामहरु भईरहेको बताउनुभयो। मध्यविन्दु नगरपालिकाको चालु आर्थिक वर्षको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले भूमि सम्बन्धी समस्या समाधानका लागि नगरपालिकाले के गरिरहेको छ भन्ने प्रश्न गरेका थिए । जवाफमा नगर प्रमुख अधिकारीले विगतमा मध्यविन्दु–१ का ९० भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासी परिवारलाई निःशुल्क रुपमा जग्गा वितरण गरिसकेको स्मरण गर्दै २०८२ भित्र भूमि
सम्बन्धी समस्या समाधान गरिसक्नेगरी अगाडी बढेको बताउनुभयो । विगतमा संघीय सरकारमा भएको सत्ता फेरबदलको कारण भूमि सम्बन्धी कामहरुले सोच अनुरुपको तिव्रता लिन नसकेको भन्दै उहाँले अहिले आयोगको काम अगाडी बढेको र भूमि आयोगमा कुनै किसिमको समस्या सृजना नभए यसै वर्ष भित्र सबै समस्या
समाधान गर्ने योजनामा नगरपालिका रहेको उहाँले बताउनुभयो । उहाँले करिव ६५ प्रतिशत भूमि नापजाँचको काम सम्पन्न भएको उल्लेख गर्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले मध्यविन्दु स्तम्भ, मध्यविन्दु नगर अस्पताल लगायतको विषयमा जिज्ञासा राखेका थिए । जवाफमा नगर प्रमुखअधिकारीले विगत देखि नै मध्यविन्दु स्तम्भ निर्माणको लागि पहल भएको भएपनि
अहिले क्रमशः सार्थकता प्राप्त गर्ने चरणमा पुगेको बताउनुभयो । स्थानीय सामुदायिक वनहरुसंगको समेत समन्वयमा मध्यविन्दु स्तम्भ पार्क निर्माण गर्नेगरी काम अगाडी बढेको उहाँले बताउनुभयो । मध्यविन्दु नगर अस्पताल विगतको अवस्थाबाट हालको अवस्थामा आईपुग्दा सेवाप्रवाहमा निकै उपलब्धी हासिल गरेको भन्दै उहाँले नयाँ भवन निर्माणका सम्पन्न भएपस्चात अझै थप व्यवस्थित र बिस्तृत सेवाप्रवाह हुने बताउनुभयो । केन्द्रबाट प्राप्त
हुनुपर्ने रकम प्राप्त नहुदाँ अस्पताल निर्माणको जिम्मेवारी पाएको
ठेक्केदार पक्षले पाँच करोड बढी रकम भुक्तानी पाउन बाँकी रहेको अवस्थामा पनि निर्माण कार्य निरन्तर भईरहेको बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले चालु आर्थिक वर्षको हालसम्मको प्रगति समिक्षा तथा खर्चको सार्वजनिकीकरण गर्नु भएको थियो । मध्यविन्दु नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार निर्माण, फोहर व्यवस्थापन, कृषि उद्यमशीलता लगायतको क्षेत्रमा गरेको कामहरुका बारेमा प्रमुख प्रशासकीय अधिकृत विपिन
क्षेत्रीले प्रस्तुतिकरण गर्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबाल सञ्जालका प्रतिनिधिहरुले बालअधिकार सम्बन्धी तालिमसंगै निःशुल्क शिक्षा कार्यान्वयनको बारेमा
जिज्ञासा राखेका थिए । शिक्षासंग सम्बन्धी प्रश्नहरुको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख पदमराज आचार्यले जवाफ दिनु भएको थियो । उहाँले निःशुल्क शिक्षा कार्यान्वयनका लागि नगरपालिकाको तर्फबाट प्रयासहरु भइरहेको र त्यसलाई
कार्यान्वयनमा लैजानका लागि योजनाबद्ध रुपमा अगाडी बढेको बताउनुभयो । मध्यविन्दु नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरीले मध्यविन्दु नगरपालिका नगरप्रति जवाफदेही बन्दै निरन्तर सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले मध्यविन्दु नगरप्रति नागरिकहरुको गुनासो वा कुनै सुझावहरु भए नगरपालिकाको कार्यालयमा आई व्यक्त गर्न समेत अनुरोध गर्नु
भएको थियो ।