२०८२ बैशाख २७, शनिबार

देवचुली १०-१५ को सार्वजनिक सुनुवाइ सम्पन्न

  • बिष्णु गौडेल
  • २०८२ बैशाख २६, शुक्रबार
देवचुली १०-१५ को सार्वजनिक सुनुवाइ सम्पन्न
देवचुली । देवचुली नगरपालिकाको वडा नं. १०, ११, १२, १३, १४ र १५ को सार्वजनिक सुनुवाइ भएको छ । नगरपालिकाले साबिकका चार वटा गाविसलाई ४ क्षेत्र बनाएर प्रभावकारी सार्वजनिक सुनुवाइ गर्ने सिलसिलामा साबिकको प्रगतिनगर गाविसको भूगोलमा पर्ने वडाका जनतासँग विकास व्यवस्थापन तथा सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो । देवचुली नगरपालिकाले आयोजना गरेको कार्यक्रमको संयोजन देवचुली मिडिया प्रालिले गरेको थियो ।सार्वजनिक सुनुवाइमा सहभागी भएका स्थानीयले भौतिक पूर्वाधार तथा मानवीय विकास र सेवा प्रवाहका विषयमा गुनासा, समस्या, जिज्ञासा सहित सुझाव समेत राखेका थिए । कार्यक्रममा उठेका प्रश्नहरूको नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, वडा अध्यक्षहरू र विषयगत शाखा प्रमुखहरूले जवाफ दिनुभएको थियो ।

प्रश्नकर्ताले दलदले मुण्डे बाटो, मापदण्ड विपरीत सञ्चालित नवलपुर क्रसर उद्योगले टोलवासीलाई परेको समस्या, साइलेज सञ्चालन, दलदले प्रगतिनगरमा हुन सक्ने डुबानको समस्या, फोहोर मैला व्यवस्थापन, प्राकृतिक विपत्ति बाढी–पहिरो, डुबान– कटानका समस्या, सिँचाइ, कृषि, बाटो घाँटो, शिक्षा, स्वास्थ्य, लक्षित वर्गसँग सम्बन्धित विषयमा नीतिगत तथा व्यवस्थापकीय धारणाका विषयमा सोधेका थिए ।

नगर प्रमुख न्यौपानेले सार्वजनिक सुनुवाइमार्फत जनताले प्रत्यक्ष रूपमा व्यक्त गरेका गुनासा, समस्या लगायतका प्रश्नले आगामी दिनमा आफूहरूलाई थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उप प्रमुख पार्वता तिवारीले सार्वजनिक सुनुवाइ महत्त्व र नगरपालिकाले गरेका सेवा प्रवाहमा जनताबाट आवश्यक सुझाव लिई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्न सहज हुने भएकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ गर्दै आएको जानकारी दिनुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले यस आर्थिक वर्षको चैत मसान्तसम्म नगरपालिकाले गरेका शाखागत प्रगति विवरणबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार विष्णु गौडेलले गर्नुभएको थियो ।

देवचुली नगरपालिकाको कार्यालय परिसरमा भएको कार्यक्रममा नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा नम्बर १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगर, वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद भुर्तेल, वडा नम्बर १३ का अध्यक्ष एकदेव पौडेल, वडा नम्बर १४ का अध्यक्ष गोपाल थापा र वडा नम्बर १५ का अध्यक्ष सुरेश रानाभाट सहित नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख एवं कर्मचारी, विभिन्न राजनैतिक, सामाजिक, सङ्घसंस्था, टोल विकास, क्लब, समूह, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस