विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी) ,(रासस) ,
नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूधमा अनुदान दिन थाले पछि उत्पादनमा शतप्रतिशतले वृद्धि भएको छ । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले गत आर्थिक वर्षमा प्रति लिटर २० रुपैयाँ अनुदानको व्यवस्था गरेको थियो ।
जस अन्तर्गत एक लाख ५८ हजार एक सय २६ लिटर दूध किसानले सहकारी मार्फत विक्री गरेर अनुदान रकम प्राप्त गरेको हुप्सेकोट गाउँपालिकाका पशु सेवा शाखा प्रमुख बुद्धि बहादुर देउजाले बताउनु भयो । “आर्थिक वर्ष २०८०८१ मा कुल ७५ हजार दुई सय लिटर दूध किसानले विक्री गरेकोमा गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५८ हजार एक सय २६ लिटर दूध विक्री गरेका छन्”,उहाँले भन्नु भयो,“गत आवमा मात्रै प्रतिलिटर २० रुपैयाँ अनुदानले गर्दा कुल ३१ लाख ६२ हजार ५२० रुपैयाँ गाउँपालिकाले किसानहरूलाई भुक्तानी गरेको छ ।”
हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थाले पछि दूध उत्पादनमा वृद्धि भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि अनुदान दिन थाले पछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि भएको पाइएको छ । यस अघि किसानले सहकारीमा विक्री गरेको दूधको तथ्याङ्कको आधारमा सहकारी मार्फत अनुदान रकम वितरण गर्ने गरिएकोमा गत आर्थिक वर्ष देखि सबै किसानको व्यक्तिगत बैङ्क खातामा नै गाउँपालिकाले रकम भुक्तानी गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
“आर्थिक वर्ष २०७९/८० मा प्रतिलिटर पाँच रुपैयाँ, ०८०/८१ मा प्रतिलिटर १० रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको थियो”,उहाँले भन्नु भयो,“गत आर्थिक वर्ष देखि प्रति लिटर २० रुपैयाँ अनुदान रकमको व्यवस्था गरेका हौ । जसको प्रतिफल स्वरूप घरायसी प्रयोगका लागि मात्र दूध उत्पादन गर्ने किसानले अहिले विक्री गर्ने गरी पशुपालन गर्न थालेको पाएका छौ ।”
गाउँपालिकाले दूधमा अनुदान रकम दिन थाले पछि प्रत्येक वर्ष उत्पादन पनि बढेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताउनु भयो । आर्थिक वर्ष २०८०/८१ मा कुल ७५ हजार दुई सय दुई लिटर दूध किसानले विक्री गरेकोमा गत आवमा त्यसमा शतप्रतिशत वृद्धि भई एक लाख ५८ हजार एक सय २६ लिटर दूध किसानले विक्री गरेको पाइएको पराजुलीले जानकारी दिनु भयो ।
“गाउँपालिका भित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको चौमासिक तथ्याङ्कको आधारमा किसानकै बैङ्क खातामा अनुदान दिने व्यवस्था गरेका छौँ”,उहाँले भन्नु भयो,“उत्पादनको आधारमा अनुदान दिने कार्यक्रमले गाउँपालिका भित्र पशु पालक किसानको सङ्ख्या पनि वृद्धि भएको छ ।”
उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । उत्पादनका आधारमा दूधमा अनुदान वितरण गर्न थाले पछि दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या वृद्धि भएको उहाँले बताउनु भयो ।
“हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष अनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रमहरू अगाडि सारिएका छन्”,उहाँले भन्नु भयो, “चालु आर्थिक वर्षका लागि पनि दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ ।”
गत आव मा सबै भन्दा धेरै दूध विक्री गरेर हुप्सेकोट गाउँपालिका–४ शङ्खदेवका किसान कृष्ण प्रसाद सापकोटाले दुई लाख ७८ हजार ६०६ रुपैयाँ गाउँपालिका वाट अनुदान रकम प्राप्त गर्नु भएको लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताउनु भयो । उहाँले कुल १३ हजार नौ सय ८० लिटर दूध विक्री गर्नु भएको लेखा अधिकृत रेग्मीले जानकारी दिनु भयो ।