पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा आधारभूत तह स्तरीय कक्षा ८ को परीक्षाफल प्रकाशित भएको छ । गत बैशाख २ गते देखि १० गतेसम्म संचालित नगरपालिका स्तरीय परीक्षाको नतिजा नगरपालिकाले आज सार्वजनिक गरेको हो । कक्षा ८ उत्तीर्ण परीक्षा समितिको बैशाख २१ गतेको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको शिक्षा शाखा प्रमुख उपसचिव टेक प्रसाद पाण्डेले जानकारी दिनुभयो । शैक्षिक सत्र २०७७ मा मध्यविन्दु नगरपालिकामा कोरोना संक्रमण जोखिमका कारण नगरपालिका स्तरीय परीक्षा हुन सकेको थिएन । यसवर्ष कक्षा ८ को परीक्षा दिनका लागि मध्यविन्दु नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका १००६ जना विद्यार्थीहरुले आवेदन फाराम भरेकोमा पूर्ण परीक्षा दिने भने ९९९ जना रहेका शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो । यसवर्षको नतिजा सम्बन्धित विद्यालयले मात्र हेर्न पाउने व्यवस्था गरिएको शिक्षा अधिकृत रेग्मीले बताउनुभयो । साथै एन जि ग्रेड प्राप्त विद्यार्थीले ग्रेड वृद्धि परीक्षाका लागी सम्बन्धित विद्यालयमा जेठ ७ गते भित्रमा सम्पर्क राखि शिक्षा युवा तथा खेलकुद शाखामा आवेदन दिन सक्नेछन् । त्यस्ता विद्यार्थीले आगामी जेठ १२ गते विहान १० बजे नवजागरण मा वि मा ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने रेग्मीले बताउनुभयो । सम्बन्धित विद्यालयले आफ्नो इमिस मार्फ़त परीक्षाको नतिजा हेर्न सक्नेछन् ।