विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी), १७ पुस (रासस)
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । बनमा खेर गएको पातपतिङ्गर वाट जैविक मल उत्पादन गरी विक्री सुरु गरिएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो । विनयी जैविक मल उत्पादन उद्योग सञ्चालन गरी स्याउला,घाँसपातको प्रयोग वाट जैविक मल उत्पादन सुरु गरिएको हो ।
“विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको विनयी सामुदायिक वन उपभोक्ता समूहमा स्थापना गरिएको उद्योगमा अहिले जैविक मल तयार गरी विक्री सुरु भएको छ”,उहाँले भन्नु भयो ,“यो वर्ष एक सय २५ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष सहित काम भइरहेको छ ।”
केही वर्ष अघि सम्म सामुदायिक वनले जैविक मल उत्पादन गर्दै आएकोमा गत वर्ष देखि गाउँपालिकाले स्वामित्व लिँदै उद्योगको रूपमा कार्य अगाडि बढाइएको हो । विज्ञहरूको सहयोगमा माटो र मलको गुणस्तरसम्बन्धी अनुसन्धान सम्पन्न गरी गुणस्तरीय मल उत्पादन सुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिनु भयो । वन जन्य झाडी तथा हिउँदमा डढेलो निम्त्याउने तत्त्वलाई नियन्त्रण गर्न जैविक मलको उत्पादन प्रभावकारी हुने उहाँले बताउनु भयो ।
“यस गाउँपालिका भित्र ४१ वटा सामुदायिक वन, दुई वटा धार्मिक वन र दुई वटा मध्यवर्ती वन रहेका छन् यी सबै वनलाई जैविक मल उत्पादन उद्योग सँग जोड्दै लैजाने प्रक्रियामा रहेका छौ”, उहाँले भन्नु भयो,“यो योजनाले रासायनिक मललाई विस्थापित गर्दै जैविक मललाई प्राथमिकता दिने, स्थानीय जनताको आयआर्जनको स्रोत विस्तार गर्ने र वातावरण संरक्षणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।”
वन जङ्गल वाट सङ्कलन गरिएको स्याउला तथा घाँस पात जम्मा गरे पछि जैविक मल उत्पादन गर्न ९० दिन लाग्छ । उत्पादन प्रक्रिया पूर्ण रूपमा व्यवस्थित र पर्यावरणमैत्री रहेको गाउँपालिका अध्यक्ष गिरीले बताउनु भयो । वनमा स्याउला तथा घाँस सङ्कलन गर्न विनयी सामुदायिक वनका ८० जना उपभोक्ताहरू अहिले काममा जुटेका छन् ।
“अहिले एक वटा वन वाट मात्रै ८० जना उपभोक्ताले प्रत्यक्ष रोजगारी पाएका छन्”उहाँले भन्नु भयो,“पालिका भित्रका ४१ वटा सामुदायिक बनबाट वायोमास सङ्कलन सुरु गर्दा पाँच हजारले प्रत्यक्ष रोजगारी पाउने छन् ।”
जङ्गलमा रहेको स्याउला, घाँसपात सङ्कलनका लागि ८० जना उपभोक्ताहरू दैनिक रूपमा काममा आउने गरेको विनयी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष बालु पुरीले बताउनु भयो । जैविक मल उत्पादनका लागि एनसाव नेपाल र एफएयु ले तालिम तथा अन्य प्राविधिक सहयोग गरेका छन् । उपभोक्ताले सङ्कलन गरेको हरियो स्याउलालाई प्रतिकिलो दुई रुपैयाँ वनले नगद दिने गरेको उहाँले जानकारी दिनु भयो ।
“स्थानीय उपभोक्ताहरू बिहान आफ्नो घरधन्दा सकेर ११ बजे वनमा स्याउला पात पतिङ्गर सङ्कलन गर्न आउनु हुन्छ”,उहाँले भन्नु भयो,“उपभोक्ताहरूले सङ्कलन गरेको हरियो स्याउलालाई प्रतिकेजी २ रुपैयाँका दरले उद्योगले खरिद गरी तत्काल भुक्तानी दिने गरिएको छ ।”
उद्योग वाट उत्पादन भएको मल गाउँपालिका भित्र प्रति केजी २० र बाहिर प्रतिकेजी २५ रुपैयाँका दरले विक्री सुरु गरिएको छ । जङ्गलमा हुने घाँसपात र झाडीहरूलाई उपयोग गर्दै तयार पारिएको जैविक मलले रासायनिक मलको विकल्प दिनुका साथै माटोको उर्वराशक्ति बढाउने उद्देश्य राखेको छ ।