२०८२ अषाढ ३१, मंगलबार

नवलपुरमा तीन हजार मेट्रिक टन तोरी उत्पादन

  • निष्कर्ष
  • २०८० चैत्र २८, बुधबार
नवलपुरमा तीन हजार मेट्रिक टन तोरी उत्पादन

विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), २८ चैत,रासस 
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिदा सो उत्पादन भएको हो ।
जिल्लामा गत वर्ष देखि तोरी खेती तर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा सुधार आएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनु भयो । उत्पादन भएको तेलहन वाली मध्य तोरी एक हजार दुई सय ८३ मेट्रिक टन रहेको छ भने सर्सियु एक हजार छ सय ८८ मेट्रिक टन रहेको प्रमुख तिवारीले बताउनु भयो ।
“गत वर्ष जिल्लामा दुई हजार चार सय ३३ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिदा दुई हजार नौ सय २० मेट्रिक टन तोरी उत्पादन भएको छ”,उहाँले भन्नु भयो,“यस मध्य तोरी एक हजार दुई सय ८५ मेट्रिक टन र सर्सियु एक हजार छ सय ३५ मेट्रिक टन रहेको छ ।”
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्ष २०७९/८० मा भन्दा यस वर्ष तोरी खेती गर्ने क्षेत्रफल १० हेक्टर र उत्पादन ५१ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि बाली विज्ञ सञ्जय ढकालले बताउनु भयो ।
“दुई वर्षको तथ्याङ्कलाई हेर्दा तोरी खेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढेको देखिन्छ”,उहाँले भन्नु भयो,“जिल्लामा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ ।”
अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसानहरू तोरी खेतीमा आकर्षित भएको कृषि बाली विज्ञ ढकालले बताउनु भयो ।
“तोरी बाली लगाउन पनि सजिलो,खासै दुख पनि नहुने भएकाले जिल्लामा तोरी खेती फस्टाएको छ”,उहाँले भन्नु भयो,“तोरी खेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानू र बजारमा आएका तेलमा मिसावट भएका कारणले किसानहरूको आकर्षण बढ्दै गएको हो ।”
पछिल्ला वर्षमा तोरीको भाउ किसानले राम्रै पाउन थालेका छन् । गाउँघरमा अहिले प्रतिक्विन्टल तोरीको मूल्य ११ हजार रुपैयाँसम्म पर्ने गरेको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट,देवचुली,कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस